२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको भन्दै स्पष्टीकरण दिएका छन् । गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्दै १० साउनमा संसदमा बोलेको विषयमा सांसद शर्माले स्पष्टीकरण दिएका हुन् ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा शर्माले भने आफूले नीतिगत प्रश्न मात्र गरेको बताए । अर्थमन्त्री डा. महतसँग आफ्नो व्यक्तिगत विवाद नभएको भन्दै सांसद शर्माले भने, “भन्सारबाट क्विन्टलका क्विन्टल सुन आउने, अनि पुलिस प्रशासनको नेतृत्व गरेको गृहमन्त्रालयलाई पनि थाहा नहुने, अर्थमन्त्रीलाई पनि थाहा नहुने भन्ने नेपालीले जनताले पत्याउँछन् त ? यो भन्दा ठूलो प्रमाण के हुन्छ ।”
उनले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको भन्दै भने, “मैले प्रकाशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ सुन तस्कर हो भनेको होइन । मैले गृहमन्त्रीले तस्करी गर्नुभयो भनेको हो र ? मैले त नैतिक रुपमा जिम्मा लिने कि नलिने भनेर नीतिगत प्रश्न हो ।”





