मनोरञ्जन

नेपाल म्युजिक भिडियो निर्देशक समाजले शम्भुजीतसहितका श्रष्टालाई सम्मान गर्दै

३२ साउन, काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले संगीतरत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई आलोक–सुरज स्मृति सम्मानबाट सम्मानित गर्ने भएको छ । नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘ आलोक–सुरज स्मृति सम्मान’बाट सम्मानित गर्न लागेको समाजले जनाएको छ ।

यही ३ भदौ आईतबार काठमाडौंको जमल स्थित नाचघरमा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समारोहमा बासकोटासहित विभिन्न म्युजिक भिडियो निर्देशकहरुलाई सम्मान गरिने संघका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।

नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको संयोजनमा हुने सो कायक्रममा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महत, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसी र वरिष्ठ म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मानित गरिने भएको छ ।

सोही समारोहमा वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधि सभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरिने समाजका महासचिब सुव्रतराज आचार्यले जानकारी गराएका छन् ।

सम्मान समारोहमा विभिन्न श्रष्टाहरुले नृत्य एवम् विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा अग्रज गायक आनन्द कार्कीसहित गायक गायिकाहरु यस कुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने भएका छन् । यस्तै गायक/अभिनेता दुर्गेश थापा, मोडल/नृत्याङ्गना करिश्मा ढकाल, बाल कलाकार जेविन/जेविश श्रेष्ठले पनि कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिने कार्यक्रम संयोजक बबिता श्रेष्ठले जानकारी गराएकी छिन् ।