५ भदौ, काठमाडौं । कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको टिप्पणी गरेका छन् ।
चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्दै नेता पौडेलले माओवादी केन्द्रका नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले भने, “सुरु सुरुमा प्रधानमन्त्रीका भनाइमा पत्यार लाग्थ्यो । अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन । पुराना खोलिएका पनि बन्द हुने खतरा छ ।”
उनले अघि भने, “फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टाचारको अनुसन्धानको यात्रा अड्किएको देखियो ।”
त्यस्तै, नेता पौडेलले प्रधानमन्त्री दाहाल आफ्नो बलले नभई कांग्रेसको शक्तिले पदमा पुगेको हेक्का राख्न सुझाए ।





