आर्थिक

प्राइम कमर्सियल बैंकको सीइओमा संजीव मानन्धर नियुक्त

८ भाद्र, काठमाडौं । प्राइम कमर्सियल बैंकको आज सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि यस बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष श्रेष्ठले शुभकामना व्यक्त गरे ।

स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यस अघि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ क्यारियर शुरु गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन् ।