८ भदौ, वीरगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अझै संविधानको अपब्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चार दलीय समाजवादी मोर्चा बनाएको बताएका छन् ।
जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्धि मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको उल्लेख गर्दै मोर्चाका अध्यक्षसमेत रहेका अध्यक्ष नेपालले भने, “अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसुस गर्न नगरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौँ ।” देशमै स्वरोजगारी सिर्जना कामलाई तत्काल अघि बढाउनुपर्नेमा उनको जोड थियो ।
वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई मोर्चाको साथ रहने अध्यक्ष नेपालले उद्घोष गरे । वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गर्दै उनले सरकारलाई जनताको चाहना, इच्छाअनुसार सुशासन र समृद्धिको यात्रामा अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताए । बलिदानीबाट प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको उल्लेख गर्दै उनले सङ्घीयता मजबुत बनाउनु र सुशासन कायम गर्नु मोर्चाको लक्ष्य भएको बताए ।
मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष पुग्दा पनि मधेसी लगायतका उत्पीडित वर्ग, समुदायले अझै अधिकार प्राप्त गर्न नसकेको गुनासो उल्लेख गर्दै उनले समावेशिताको नाममा केवल बाध्यात्मक कुरालाई मात्र कार्यान्वयन गरिँदै आएको दाबी गरे ।
मधेसको विकासविना मुलुकको विकास सम्भव नभएको जिकिर गर्दै अध्यक्ष यादवले मधेसमा सञ्चालित योजना समयमा सम्पन्न नहुने परिपार्टीको अन्त्य हुनु जरुरी रहेको बताए ।





