राजनीति

ओलीले मलाई सर्वदलीय बैठकमा निषेध गरे : अध्यक्ष नेपाल

९ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको आरोप लगाएका छन् ।

अध्यक्ष नेपालले संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरुको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी हुन नपाएको बताएका हुन् ।

शनिबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै उनले भने, “ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् ।”

ओलीले आफूलाई विगतमा राष्ट्रपति बन्न प्रस्ताव गरेको भनिए पनि त्यो गलत भएको उनले बताए । ‘केपी ओलीलाई जब राष्ट्रपति पद पाउनका लागि मतलब लागेको थियो, मसँग भेट्न खोजे । तर मलाई प्रस्ताव राखेनन् । अहिले के भन्छन्–मैले प्रश्ताव राखेको थिए । तर उनले राखेकै थिएनन्”, उनले अघि भने ।

बरु आफूलाई पुष्पकमल दाहालले भने राष्ट्रपतिको प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको नेता नेपालले बताए ।