राजनीति

धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन्न : देउवा

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेका छन् । सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन् ।

‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो ।’

सभापति देउवाले नेपालमा परापूर्व कालदेखि विभिन्न जातजाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको कानुनले पनि एक अर्काको धर्म संस्कृति र आस्थामा चोट नपुर्याकई धार्मिक साँस्कृतिक स्वतन्त्रता दिएको बताए ।