९ भदौ, बाँके । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जिल्लाका विवाद र समस्या केन्द्रमा जाँदा केन्द्रनै ध्रुवीकृत हुने अवस्था बन्ने भएकाले कांग्रेसलाई विकेन्द्रिकरण गरेर जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए ।
“पार्टीमा रहेको केन्द्रमुखी र केन्द्रिकृत अभ्यासलाई राज्य संरचना विकेन्द्रित भएजस्तै विकेन्द्रिकरण जरुरी छ”, उनले भने, “जिल्लाका विवाद र समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने व्यवस्था गर्नुपर्दछ ।” अधिवेशनको समयमा पार्टीभित्र गुटबन्दी हुनु स्वभाविक भएको बताउँदै केन्द्रीय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निष्क्रिय भएर जाने जिकिर गरे । उनले कांग्रेस सक्षम भए कसैसँग पनि गठबन्धन गर्नु नपर्ने धारणा राखे ।
“कांग्रेस आफ्नो खुट्टामा आफैँ उभियो भने कसैले पनि हल्लाउन सक्दैन”, कोइरालाले भने, “हामी एक भयौँ भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।” उनले आफू मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गरे । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानबारे पुनःविचार गर्नुपर्ने बेला आएको बताए । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डो¥याइरहेको भन्दै उनले निर्वाचन प्रणालीका बारेमा सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गरे । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतम र उर्मिला थपलिया, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले धारणा राखेका थिए ।





