राजनीति

सांसदहरुको आह्वान : सामाजिक सद्भाव कायम राखौँ

१० भदौ, काठमाडौँ । राष्ट्रिसभाका सांसदहरुले सामाजिक सद्भाव कायम राख्न धरानवासीलाई आह्वान गरेका छन् । राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पु¥याएको भन्दै आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले धरानलगायतका अन्य ठाँउमा आपसी भाइचारा र सामाजिक सदभावलाई खलल पु¥याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गर्दै सरकारले यसका लागि थप पहलकदमी लिनुपर्ने बताए ।

“परापूर्वकालदेखि विभिन्न जनजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव कायम राख्दै देश विकासमा एकजुट भई अगाडि आइरहेका छौँ”, उनले भने, “आपसी मतभेद र असहमतिलाई सौह्रार्दपूर्ण वातावरणबाट समाधान गरी सामाजिक सद्भावलाई कायम राख्न आह्वान गर्दछु ।” सांसद बोहराले पटकपटक संसद् अवरुद्ध हुँदा संसद्को गरिमामा आँच आएकोप्रति प्रतिपक्षका सांसदलाई सचेत हुन आग्रह गरे ।

नेकपा(माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले देश विकास र समृद्धिका लागि एकजुट हुनुपर्ने बेला आपसमा लडाईं नगर्न आग्रह गरे ।

बैठकमा नेकपा (एमाले) का सांसद भगवती न्यौपानेले धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि सञ्चालन गराउने समूहदेखि सचेत बन्नुपर्ने बताए । उनले भने, “जातीय सद्भावमा खलल पुग्ने गरी जे गतिविधि भइरहेका छन्, त्यो अत्यन्तै दुःखद् छ ।” सांसद न्यौपानेले सर्वोच्च अदालतको फैसलाका बाबजुत कोशी प्रदेशमा गठबन्धनले संविधान मिच्ने काम दोहो¥याएको आरोप लगाए ।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले पहिचान र जातीय मुद्दालाई गलत दिशा दिने तत्व सलबलाएको बताए । बैठकमा उनले देशको अर्थतन्त्रको सुधारका लागि सुझाव दिँदै कृषि, उद्योग, व्यापारलगायत क्षेत्रमा उत्पादन वृद्धि दोब्बर गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले कोशी प्रदेशमा सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिँदै भने, “घरभित्र आगो लगाउनु कुनै देशभक्ति हैन ।”

बैठकको विशेष समयमा सांसदहरुले प्राकृतिक प्रकोपबाट प्रभावितलाई राहत उपलब्ध गराउन, अवरुद्ध सडकमार्गको तत्काल मर्मत सुधार र स्वास्थ्य बीमाका विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।

नेकपा(एमाले)का सांसद रामचन्द्र राईले प्रकोपबाट पीडितलाई राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराए । “सुख्खा क्षेत्र, बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई यथाशीघ्र राहत उपलब्ध गराउन अनुरोध गर्दछु” , उनले भने ।

सांसद राईले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने योजनादेखि सडक दुर्घटना न्यूनीकरणका लागिसमेत जिम्मेवार बन्न ध्यानाकर्षण गराए । उनले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरे ।

“वनपैदावर विकास समिति, सागरनाथ वन विकास परियोजना, रतुवामाई वन परियोजनाका कर्मचारीले एक वर्षदेखि तलबभत्ता पाएका छैनन्, त्यसतर्फ सरकारको ध्यान पुगोस्”, सांसद राईले ध्यानाकर्षण गराए ।