आर्थिक

एक अर्ब जनसङ्ख्याका लागि पानीको स्रोत नेपाल : अर्थमन्त्री महत

१० भदौ, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् ।

विश्व वातावरण कोषको ७औंँ एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसङ्ख्याको लागि पानीको स्रोत नेपाल रहेको विषयबारे विश्व समुदायको ध्यानाकर्षण गराए । उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातीको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताए ।

वन तथा वन्यजन्य सम्पदा नेपालका लागि मात्र नभइ विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको मन्त्री डा महतको भनाइ थियो । यी प्रयासका बाबजुत जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १०औँ उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनमा बाढीपहिरो अतिवृष्टि सुख्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको उनले बताए ।

नेपालको तापक्रम सन् २०३० सम्ममा शून्य दशमलब पाँचदेखि दुई डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर तथा प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको उल्लेख गर्दै मन्त्री डा महतले सहभागीहरुको ध्यानाकर्षण गराए ।

मन्त्री डा महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदैं यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै स्रोेत अति प्रभावित मुलुकमा केन्द्रित गर्न अनुरोध गरे । उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यक्रम कार्यान्वयन गरिदैँन तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखेका थिए ।