राजनीति

ठूला भ्रष्टाचार काण्ड सामसुम पार्न सत्ता, शक्तिका आधारमा मिलेमतो भइरहेको छ : महामन्त्री थापा

११ भाद्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको आरोप लगाएका छन् ।

महामन्त्री थापाले यस्तो मिलेमतोलाई तोड्न पार्टीभित्र र बाहिर सहकार्यको प्रस्ताव राख्दै भनेका छन्, “ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, टिकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठुला भ्राष्टाचारका काण्डहरु निस्किरहंदा बितेका वर्षहरुमा अख्तियार अनुसन्धान आयोगको दुरुपयोग गरेर कसरी शासन सत्ता, पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस” बनिरहेको रहेछ भन्ने कुरा छर्लंगै भएको छ ।”

महामन्त्री थापाले पुराना घटनाहरुलाई छानबिन गरि कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणको लागि बनेको कानुनि र संरचनागत सयंत्रहरुलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरुमा काम गर्न यी घटनाहरुले झकझकाई रहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फ थापाले लेखेका छन्, “यस्ता घटना सामसुम पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आऔं, यस्तै धारणा भएको अन्य पार्टीका साथीहरुसँग पनि समान धारणा बनाऔं, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं ।”