राजनीति

लुटतन्त्रको अन्त्यको लागि अब जनता सडकमा आउनुपर्छ : कमल थापा

११ भाद्र, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै लुटतन्त्रका अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने आबश्यकता औल्याएका छन् ।

आगामी भाद्र २९ गते पार्टीले बृहत बिरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजा सहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने समेत बताए ।

मुलुकको गौरबशाली इतिहास ,धर्म संस्कृती पहिचानलाई समाप्त पार्न योजनाबद्ध रुपमा भएका षड्यन्त्र विरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको बिकल्प नभएको समेत बताए। राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण,आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको ब्यबस्था र प्रणाली परिबर्तन गर्नुपर्ने थापाको धारणा रहेको छ ।

सिमित दलका सिमित नेताहरुको सेटिङ्गमा राज्य ब्यबस्था चल्नु दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले मुलुकमा बिदेशी प्रभाव र दबाब बढ्नुमा नेताहरुकै भुमिका रहेको समेत बताए । बैठकमा बोल्दै पार्टीका महामन्त्री राजाराम बर्तौलाले अब पार्टीले शुरु गर्ने आन्दोलनमा नेता कार्यजर्ताको मात्र होइन जनताको समेत समर्थन र सहभागी हुनुपर्नेमा जोड दिए ।

बैठकले बिरोध प्रदर्शनलाई ब्यबस्थित र प्रभाबकारी बनाउन उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा आर्थिक परिचालन समिती, उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा जनपरिचालन समिति , सुनिता कुरुङ्गवाङको संयोजकत्वमा प्रचार -प्रसार समिती, नगेन्द्र देउजाको संयोजकत्वमा स्वंमसेवक समिती गठन गरिएको छ ।