उर्जा

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : गृहमन्त्री श्रेष्ठ

१२ भदौ, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । गृह मन्त्रालयमा आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीसँगको भेटमा उनले ऊर्जा क्षेत्रमा भएको रु १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताए ।

अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह तथा तप्काका नागरिकको सुरक्षा गर्ने रहेको उनले बताए । इप्पानले सुशासनको अभियान सुरु गरेकामा सो अवसरमा धन्यवाद दिएको थियो । भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको उल्लेख गर्दै परियोजनास्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिए । विस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन उनले आग्रह गरे ।

यसैबीच आजै इप्पान र बीमा प्राधिकरणका पदाधिकारीबीच पनि भेटवार्ता भएको छ । उक्त भेटमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले इप्पानका सुझाव समेटेर बीमाका नीति, नियम र निर्देशिका जारी गर्ने बताए ।

पछिल्लो समय बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि जारी गरिएको न्यूनतम प्रिमियमसम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै एकतर्फी रुपमा ६०० गुणासम्म प्रिमियम बढाएपछि इप्पानले उक्त निर्देशिका खारेजीको माग गर्दै आएको छ ।

उक्त निर्देशिका पूर्णरुपमा कार्यान्वयन नहुँदै फेरि पनि प्रिमियम बढाउन खोजेपछि इप्पानले गत असार ७ गते बीमा प्राधिकरणलाई ध्यानाकर्षण पत्र लेखेर खबरदारी गर्दै आइरहेको छ । यो बीचमा निर्जीवन बीमा कम्पनीको सङ्गठन नेपाल बीमक सङ्घ र इप्पानबीच दुवै पक्षलाई मान्य हुने प्रिमियम निर्धारणका लागि पटक–पटक छलफल भएको छ । तर, सबैलाई मान्य हुने गरी प्रिमियम निर्धारण गर्ने काम भने हुनसकेको छैन । यसबाट कतिपय पोलीसी नवीकरण गरिएका छैनन् भने नयाँ पोलिसी पनि जारी भएका छैनन् ।