राजनीति

कानुनमन्त्रीलाई गगनको आग्रह : सरकारले दोषीलाई जोगाउन कानुन संशोधन गर्न खोज्दैछ, त्यसको भारी नबोक्नुस्

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले संसदलाई हेपेको टिप्पणी गरेका छन् । कांग्रेस महामन्त्री समेत रहेका थापाले गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४ पछिको सरकारले यसको दुरुपयोग गरेर सरकारले संसदलाई हेपेको बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभामा केही नेपाल ऐनको संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै उनले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेको बताए ।

“यसरी ऐन ल्याउनु भनेको हिजो पनि संसदलाई हेपेको हो । आज पनि संसदलाई हेपेको हो । संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने म सँग बहुमत छ, मैले जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ”, उनले अघि भने, “यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपटक देखाउनुछ ।”

त्यस्तै, उनले जघन्य अपराधमा संलग्नलाई पनि जोगाउने गरी कानुन बनाउन लागिएको भन्दै आपत्ति जनाए । यो कानुनको मस्यौदा अघिल्लो सरकारकै पालामा भएको र आफ्नै पार्टीका नेता तथा कानुनमन्त्री धनराज गुरुङलाई त्यसको भारी नबोक्न आग्रह गर्दै भने, “जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी जुन प्रावधान ल्याएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानुनमन्त्रीलाई आग्रह छ । यो २०७४ सालपछिको सरकारले लेखेको ड्राफ्ट हो, यसको भारी नबोक्नुस् यसलाई बिसाउनुस् ।”