राजनीति

समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यक : प्रधानमन्त्री

बुटवल, १२ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।

समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको पनि स्पष्ट गरे ।

तत्कालीन नेकपा माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गराउँदै अध्यक्ष दाहालले त्यतिबेला आफूहरुले अघि सारेका कतिपय प्रश्नको हल भइनसकेको पनि बताए । ‘हामीले त्यतिबेला भनेका थियौं, देशलाई संविधानसभाको चुनावमा जानबाट कसैले रोक्न सक्दैन । देश अब गणतन्त्रमा जान्छ र गणतान्त्रिक आन्दोलनको नेता कम्युनिष्ट पार्टी बन्छ’ उनले भने, ‘त्यतिबेलाको दस्तावेज पढ्नुभयो भने स्पष्ट लेखिएको छ तर त्यो गणतन्त्र हामीले भनेजस्तै श्रमिक जनताको हुन्छ वा दलाल नोकरशाहको गणतन्त्र हुन्छ, त्यो गणतन्त्र आउनेबित्तिकै फैसला हुने छैन ।’

अहिले गणतन्त्र जनताको बनाउने वा वुजुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यही फैसला गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । प्रतिक्रियावादीहरुले सके गणतन्त्र नै समाप्त गर्ने र नसके यसलाई फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन् तर हामी भने अब जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौं । अहिलेको लडाइँ यही नै हो । यो लडाइँमा हामीले विशाल शक्ति सञ्चय गर्नैपर्छ, त्यसकै लागि यो मोर्चाको आवश्यकता परेको हो ।’

अहिले प्रतिक्रियावादीहरुले जातीय, धार्मिक सद्भाव भड्काएर वा जे गर्न सकिन्छ गरेर भए पनि परिवर्तन उल्ट्याउन चाहेको उल्लेख गर्दै उनले यही प्रतिक्रान्तिकारी संकटबाट बिचबाट समाजवादी क्रान्तिलाई अघि बढाउनुपर्ने स्पष्ट गरे । ‘अहिले प्रतिक्रियावादीहरुलाई गाउँका श्रमिक जनताका छोराछोरी आएर सरकार चलाएको पाच्य भएको छैन, उनीहरु कुनै पनि शर्तमा परिवर्तन उल्ट्याउन चाहन्छन्’, उनले भने, ‘संविधानको अंग बनिसकेको शान्ति सम्झौतालाई लत्यार मुद्दा चलाउँदै शान्ति प्रतिक्रिया बिथाल्न चाहन्छन् तर हामी भने निरन्तर अघि बढ्नुपर्छ ।’

समाजवादी मोर्चा सरकार, सदन र सडकबाट एकैसाथ अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्रीले प्रक्रियावादीहरु परिवर्तनविरुद्ध लागिरहे भने लाखौं जनतालाई समाजवादमा प्रशिक्षित गरेर अघि बढ्नुपर्ने बताए । आफू यसपटक समाजवादी क्रान्तिकै लागि सरकारमा गएको स्पष्ट गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत आफूले लडाइँ सुरु गरिसकेको बताए । क्रान्तिकारीहरु विभाजित हुँदा क्रान्तिको अपमान गर्नेहरु हावी हुन खोजेको उल्लेख गर्दै उहाँले क्रान्तिकारीहरुबिच वाद र विवादको चरण समाप्त भएर संवादको चरण सुरु भएकाले अब समाजवादी आन्दोलनका लागि क्रान्तिकारीहरु पुनः एक भएर अघि बढ्न थालेको बताए ।

हिजोका दिनमा बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद, जनयुद्ध र एकीकृत क्रान्तिका नाममा एकल रुपमा गरिएका अभ्यासहरु मोर्चाले साझा प्रयोगकै स्वामित्व लिने भन्दै प्रधानमन्त्रीले हिजोका सबै अनुभवका आधारमा अघि बढिने बताए ।

उनले एमसीसीको प्रसंगमा उठेका प्रश्नको जवाफ दिंदै नेपालको राष्टिय हित र स्वाधीनताका लागि अहिले पनि आफू लडिरहेको बताए । बिदेशी सहयोग पनि लिने र राष्टिय स्वाधीनतामा पनि सम्झौता नगर्ने गरी संसदबाट १२ बुँदे ब्याख्यात्मक टिप्पणी गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताए ।