राजनीति

प्रधानमन्त्रीलाई विप्लवको आग्रह : तपाईं सरकारबाट लड्नुस्, जनताको लागि हामी सडकबाट साथ दिन तयार छौँ

बुटवल, १२ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले अब एउटा पार्टीले मात्रै लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले मोर्चाको अवधारणा अघि सारिएको बताएका छन् । हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न गरे पनि अब समाजवादी क्रान्तिका लागि मोर्चा आवश्यक परेको बताए ।

समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपालमा दलाल पूजीवादको अन्त्य गरी जनताको समाजवाद स्थापना गर्नु आजको आवश्यकता भएको बताए।

त्यस्तै, उनले आफ्नो पार्टीले भन्दै आएको बैज्ञानिक समाजवाद अहिले सम्भव नभए पनि नेपाली बिशेषतासहितको समाजवाद मोर्चाको साझा विन्दु भएको उल्लेख गरे ।

मोर्चा बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो जोखिम मोलेको उल्लेख गर्दै बिप्लवले जनताको एकता मन नपराउने तत्वहरु बढारिएर जाने बताए । मोर्चा सम्बद्ध दलहरु समस्यारहित नभए पनि अहिले नेपालमा सबैभन्दा अग्रगामी शक्ति समाजवादी मोर्चा रहेको बताए । नेपाल स्वाधीन बन्दै गएको उल्लेख गर्दै उनले यो बिदेशीहरुलाइ मन नपरेको बताए ।

महासचिव विप्लवले प्रधानमन्त्रीलाई सरकारबाट लड्न आग्रह गर्दै जनताको लागि आफूहरु सडकबाट साथ दिन तयार रहेको बताए । सरकारले सुशासनको पक्षमा गरेका काममाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उनले सरकारले गरेका कामको बिरोध गर्नेहरु परिवर्तन बिरोधी भएको बताए ।

मोर्चाको प्रदेश समन्वय समिति घोषणा

समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ । जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।
जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जसपाबाट नवीनकुमार सुनुवार, मणिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट वसन्त सी, नारायण सी र सम्झना सी रहेका छन् । समितिको अध्यक्ष चार महिनाका लागि नेकपाले गर्नेछ ।