राजनीति

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : अध्यक्ष ओली

१३ भदौ, मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन दलसँग कोशी प्रदेशमा सरकार निर्माणका लागि कुनै सम्झौता नगरेको जनाउँदै राप्रपाले गठबन्धनलाई सहयोग गर्ने झुठो कुरा हो भने ।

ओली संसद्बाट सर्वसम्मतिले पारित गरेको नेपालको भूगोल समेटिएको नक्सालाई चुच्चे नभन्न आग्रह गर्दै मित्रराष्ट्र चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा समावेश गर्न कूटनीतिक नोट पठाउनुपर्नेमा जोड दिए ।