गण्डकी प्रदेश

चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउछ : प्रदेश प्रमुख गुरुङ

१४ भदौ, गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विभिन्न चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने बाएका छन् । जनै पूर्णिमाको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै नेपाल बहुजाती, बहुभाषिक र बहुसांस्कृतिक देश रहेको बताउँदै उनले विभिन्न जाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गदै आपसी सद्भाव प्रगाढ बनाएको बताए।

यस्ता चाडपर्वले समुदायबीच सद्भाव कायम राख्दै साँस्कृतिक, आर्थिक र सामाजिक रुपमा एकीकृत बनाउने र राष्ट्रिय एकतालाई अझ मजबुद बनाएको सन्देशमा उल्लेख छ ।

उत्साह र उमङ्गका साथ विभिन्न समुदायले खुशीयालीस्वरुप मनाउने यस पर्वले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको बताउँदै उनले मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने परम्परा रहेको उल्लेख गरे।

तागाधारी समुदायले मात्रै नभइ यो पर्वलाई विभिन्न समुदायले धुमधामका साथ मनाउने र समुदायपिच्छे यसलाई फरक–फरक नामले पुकारिए पनि अन्ततः बुझिने शब्दमा रक्षाबन्धन भएकाले यसको अत्यन्त ठूलो महिमा रहेको सन्देशमा भनिएको छ । नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने र बौद्ध धर्मावलम्बीले आजको दिनलाई भगवान् गौतम बुद्धले काम शक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गरिएको सन्देशमा उल्लेख छ ।