राजनीति

टीआरसीमा प्रधानमन्त्री दाहालले मागे ओलीको सहयोग

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा एमालेका अध्यक्ष केपी शर्मासँग सहयोग मागेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले टीआरसी टुंग्याउन एमालेको सहयोग आवश्यक रहेको बताएका हुन् ।

एक नेताका अनुसार भेटमा प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई भनेका छन्, ‘टीआरसीमा तपाईंको सहयोग चाहियो ।’ जवाफमा अध्यक्ष ओलीले असहयोग गर्ने आफूहरुको चाहना नरहेको बताए । ओलीले प्रधानमन्त्री दाहाललाई जवाफ फर्काएका छन्, ‘हाम्रो सहयोग छ कहिले पो असहयोग थियो र !’

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भन्दै ओलीले ‘थप सुधारका लागि तयार हुनुपर्ने’ पनि बताएका छन् । संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने सन्दर्भमा खुला छलफल गर्न तयार रहेको भन्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको सहयोगमा मात्रै विधेयक अगाडि बढाउने चाहना रहेको बताएका छन् ।