समाचार

समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद हजरा

२४ भदौ, काठमाडौँ ।सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लागेका हुन् । नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् ।

दलित समुदायप्रति त्यतिबेला समाजमा धेरै विभेद रहेकामा अहिले धेरै परिवर्तन आएको सांसद हजरा बताउँछन्। दलित समुदायको व्यक्ति हुनुका नाताले विभेद अन्त्यका लागि प्रमुख एजेण्डा लिएर आफू कम्युनिष्ट पार्टीमा लागेको उनी बताउँछन्।
संवादका क्रममा सांसद हजराले भने, “समाजमा हिजोभन्दा धेरै परिवर्तन भइसकेको छ । विगतको तुलनामा छुवाछूत र विभेद कम छ, तर शेष भने बाँकी नै छ । चाँडै अन्त्य हुनेमा विश्वस्त छु ।”

वडा, गाउँ, जिल्ला, प्रदेश हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका सांसद हजरा संविधानको मर्म र भावनाअनुरुप नयाँ ऐन बनाएर राज्यका सबै संरचनामा समानुपातिक समावेशी सिद्धान्तको पूर्णपालना गरिनुपर्ने मत राख्छन्।

विसं २०८४ मा हुने तीन तहकै निर्वाचनमा महिला र दलितका लागि बेग्लै आरक्षणको व्यवस्था भएमा सबै समुदायलाई एकैसाथ लिएर राष्ट्रलाई विकासको मार्गमा लैजान सकिने उनको भनाइ छ ।

नेता हजरा भन्छन्, “देशको आधा जनसङ्ख्या भएको महिला र पाँच लाखको हाराहारीमा रहेका दलितलाई लैङ्गिक र जातीय हिसाबले पछि पारिएको हुँदा अब उनीहरूलाई उठाइयो भने मात्र राष्ट्र समृद्धितर्फ अघि बढ्छ ।”

सामान्यरुपमा कृषि कर्ममा संलग्न भए पनि पार्टीको पूर्णकालीन राजनीतिमा संलग्न सांसद हजरा पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रमुखको जिम्मेवारीमा छन्। विसं २०४६ को जनआन्दोलनपछि पार्टीमा सक्रियताका साथ निरन्तर लागेका सांसद हजराले गएको निर्वाचनमार्फत पहिलोपटक प्रतिनिधिसभामा प्रवेश पाएका हुन् ।