प्रदेश 1

विद्यार्थीलाई चरा चिनाउने अभियान

२४ भदौ, झापा । दुई दशकअघिसम्म तराईका अग्लाअग्ला सिमलका रुखमा प्रशस्त गुँड बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुड चरा अब लोप हुँदै गएका छन् । बासस्थान र आहाराको स्रोत मासिएसँगै पूर्वी तराईमा यी चरा हराउँदै गएको विज्ञहरु बताउँछन् ।

यस्तै लोपोन्मुख चराको संरक्षण गर्न चरा तथा वन्यजन्तु संरक्षण समाजले झापा र इलाममा अभियान सुरु गरेको छ । सुन्दर चरा लोप नहोउन र लोपोन्मुख अवस्थाबाट गुज्रिरहेका चराको संरक्षण गर्ने उद्देश्यले अभियान सुरु गरिएको समाजका अध्यक्ष देवेन्द्र खरेलले बताए।

झापाको दक्षिणी कचनकवलदेखि इलामको रोङ गाउँपालिकाका विभिन्न विद्यालयमा चरा संरक्षणसम्बन्धी जनचेतना अभियान सञ्चालन भइरहेको उनले बताए। अभियानमा फरेस्ट एक्सन नेपाल, रोङ गाउँपालिका लगायतले सहकार्य गरेका छन् ।

“हामी विद्यालयमा गएर विद्यार्थी र शिक्षकसँग अन्तक्र्रिया गरिरहेका छौँ”, खरेलले अभियानबारे जानकारी दिँदै भने, “विद्यार्थीमा प्रकृतिका अनुपम सौन्दर्य जान्ने उत्सुकता हुन्छ, त्यसैले वरपर रहेका चरा चिनाउने र तिनको संरक्षणमा ध्यान आकर्षित गर्ने अभियानको उद्देश्य हो ।”

झापा र इलाममा गिद्ध विरलै मात्र देख्न पाइन्छ भने लामो चुच्चो भएको भुँडीफोर गरुड यदाकदा देखिन्छ । नेपालमा आठ सय ९२ प्रकारका चरा पाइन्छन् । तीमध्ये चार सय प्रजातिका चराको तस्वीर खरेलले खिचिसकेका छन् । मेचीनगरमा रहेका तीन सय ३० प्रजातिका चराको तस्वीर उहाँले क्यामेरामा कैद गरिसकेको बताए।

तराईमा दुई दशकअघिसम्म खोला र वन क्षेत्रमा सिनो लुछिरहेका गिद्धका बथान प्रशस्त पाइने गरेको स्थानीय बताउँछन् । अहिले इलाम र झापाको सीमा क्षेत्रको चुरे भागमा केही गिद्ध मात्र भेटिएका छन् । बासस्थानका रुपमा तराईमा रहेका अग्ला सिमलका रुख मासिँदा र आहाराको रुपमा रहेका मरेका पशुमा किटनाशक विषादी मिसिएका कारण गिद्धको अस्तित्व सङ्कटमा परेको हो । सिकारीको बिगबिगी र बासस्थानको अभावले लामो चुच्चो भएको भुँडीफोर गरुडको सङ्ख्यासमेत न्यून हुँदै गएको छ ।

इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिकालाई चरा संरक्षित क्षेत्र बनाउने उहाँको पहल छ । ती क्षेत्रमा उहाँ दिनहुँ चरा तथा वन्यजन्तुको संरक्षणमा रुचि राख्ने फोटोग्राफर र विषयविज्ञलाई आमन्त्रित गरेर चराको अनुसन्धान गरिरहेका छन् ।

रोङको वडा नं ६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयमा गिद्धको संरक्षणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, वन कर्मचारी र विद्यार्थीको उपस्थिति रहेको थियो । नेपालकै होचो भूभागका रुपमा चिनिएको कचनकवल गाउँपालिकाको पथरिया उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई चरा तथा वन्यजन्तु संरक्षण समाजले वरपरको जलाशय र वन क्षेत्र नजिक लगेर चरा चिनाइएको थियो ।

भद्रपुर नगरपालिका–१ स्थित हिमाली माध्यमिक विद्यालय, बाह्रदशी गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय र मेचीनगरको दीपेन्द्र आधारभूत विद्यालयमा समेत चरा संरक्षणका विषयमा विद्यार्थीलाई सचेत बनाउने कार्यक्रम गरिएका छन् ।

विद्यार्थीलाई चरा जोगाउने अभियानमा जोडेपछि गाउँगाउँमा चरा मार्ने प्रवृत्ति रोकिएको अभियानकर्मी खरेल बताउँछन्। “चरा भनेको प्रकृतिका अनुपम उपहार हुन, यिनले बिहानै चिरविरे गीत गुञ्जाएर मानिसलाई मनोरञ्जन दिन्छन् भने विभिन्न कीरा फट्याङ्ग्रा खाइ दिएर अन्न तथा फलफूल बालीलाई जोगाइदिन्छन् भनेर विद्यार्थीलाई बुझाउने गरेका छौँ”, खरेलले भने।

इलामको रोङमा डेढ सय वर्षअघि लोप भइसकेको ठानिएको ‘हङ्रायो’ नामक दुलर्भ चरा खरेलले नै खोजी गरेर पत्ता लगाएका थिए । ‘हङ्रायो’ भेटिएको समाचार विश्वव्यापी चर्चाको विषय भएको थियो ।