समाचार

‘नेपान’ को नयाँ कार्यसमिति

२५ भदौ, काठमाडौँ । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को २९औँ वार्षिक साधारणसभाले वातावरण, मानवअधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भोला भट्टराईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ ।

नवगठित कार्यसमितिमा कोषाध्यक्ष रुपा बस्नेत, डा अनोज क्षेत्री (निवर्तमान अध्यक्ष) सदस्य, डा रोजी जोशी, डा जानुका न्यौपाने, डा नरेन्द्रसिं ठगुन्ना, श्रीराम केसी, विजया खनाल, श्रीजना देव, रामहरी अधिकारी र गिरी पन्थी चयन भएका छन्।

साधारणसभाले विकास प्रकृयामा समावेशीकरण, सामाजिक न्याय, जवाफदेहिता अभिवृद्धि, नागरिक आवाजमार्फत शासकीय प्रक्रियामा सुधार गर्ने उद्देश्यसहित सन् २०२३ देखि २०२७ सम्मको रणनीति पारित गरेको छ । साधारणसभाका क्रममा आयोजना गरिएको शिक्षा क्षेत्रको रुपान्तरणका विषयमा नीतिगत बहसमा डा विष्णुराज उप्रेती, सह–प्रध्यापक डा प्रकाशचन्द्र भट्टराई, डा मीनाक्षी दाहाललगायतले आ–आफ्नो धारणा राखेका छन् ।

सो अवसरमा प्रसिद्ध कणेल स्मृति विकास लेखन पुरस्कार डा अरुणा उप्रेतीलाई र भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार लक्ष्मी कुँवरलाई प्रदान गरियो । ‘सहभागिता’ विकास पत्रिकाको ५७औँ अङ्क र ‘पार्टिसिपेसन’ अङ्ग्रेजी जर्नलको २३औँ अङ्कको पनि लोकार्पणसमेत गरिएको थियो ।