समाचार

सुन प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन राय, तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

२७ भदौ, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ ।

उक्त प्रकरणमा आरोपीहरुमाथि हालसम्म भन्सार ऐन, सङ्गठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएकोे सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए।

आज आयोजित पत्रकार सम्मेलन उनले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरुले विभन्नि सातवटा कम्पनीबाट तीन सय ६२ किलो ९३०२ र ६० किलो० भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिए। प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ।

उक्त अटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र नौ जना विदेशी रहेकामा १८ जना फरार रहेका उनको भनाइ थियोे ।

सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुसन्धान

उक्त प्रकरणमा प्रत्यक्षरुपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताए। उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाई गर्नेलगायत काम गरेको, अर्को डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पु¥याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिए।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरुले सुरुमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए। विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनले उनको भनाइ थियो । तहगतरुपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य पनि फेला परेको बताए।