बाग्मती

हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता : सभापति सिंह

२९ भदौ, मकवानपुर । राप्रपाका सांसद एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौँडामा इन्जिनियरिङ क्याम्पसको आवश्यकता रहेको औँल्याएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले जिल्लाका विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि अन्यन्त्र धाउनुपर्ने समस्यालाई दृष्टिगत गर्दै औद्योगिक नगरी हेटौँडामा इन्जिनियरिङ कलेजको अवधारणाका लागि पहल गरिरहेको जानकारी दिए ।

मयूरधाप औद्योगिक क्षेत्रको काम अन्तिम चरणमा पुगेको जनाउँदै सिंहले औद्योगिक नगर भनेर चिनिने हेटौँडामा इन्जिनियरिङ कलेज स्थापना गर्न सके दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए । शिक्षा क्षेत्रमा मकवानपुर क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले इमान्दारिताका साथ काम गर्ने हो भने शिक्षा क्षेत्रमा मकवानपुरले इतिहास बनाउने बताए ।

मकवानपुरका प्रतिनिधिसभा सदस्य एंव नेकपा एमालेका सचेतक महेश बर्तौलाले निःशुल्क शिक्षा आवश्यक रहेको बताए । सामुदायिक क्याम्पसमध्ये मकवानपुर क्याम्पसले शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले उच्च शिक्षामा पनि निःशुल्क गराउन सके कोही पनि शिक्षाबाट वञ्चित हुन नपर्ने बताए । सचेतक बर्तौलाले विद्यार्थीहरुका लागि सहुलियत शिक्षामा सरकारले चासो राख्नुपर्नेमा जोड दिए ।