खेलकुद

साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगिता : भारतद्वारा बङ्गलादेश पराजित

४ असोज, काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० को गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पङ्गमबम र अर्जुनसिंह ओइनामले समान एक–एक गोल गरे ।

भारतले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । भारतका लागि गुग्मसार गोयारीले गोल गरे । त्यस्तै भारतले खेलको पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्यो । नाओबा पङ्गमबमले बङ्गलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिस गर्दै गोल गरेका हुन् ।

यसैगरी भारतले खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुनसिंह ओइनामले खेलको ९०औँ मिनेटमा तेस्रो गोल गरे ।

यस जितसँगै समूह ‘बी’मा रहेको भारतले तीन अङ्क जोडेको छ । समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेका छन् । त्यस्तै समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।