लुम्बिनी

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ

५ असोज, रुपन्देही । भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा) देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् ।

टीकापुरका केही बगैँचामा केराको बोट ओउलाउने रोग टिआर–४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताए । उनका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ ।

“रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पु¥याउँछ । नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्”, प्रमुख अर्यालले भने, “नयाँ प्रजाति पानामा (टिआर–४) ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्दछ ।”

रोग लागेमा सुरूमा पुराना पातको फेद पहेँलो हुने भनदै पछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने बताए । “यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छन्”, उनले भने ।

पनामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने प्लाण्ट क्वारेन्टाइन कार्यालयका भैरहवाका प्रमुख कुलदीप घिमिरेले बताए । उनका अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ । यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेको घिमिरेले बताए । सङ्क्रमित माटो, पानी र औजार रोगका प्रमुख स्रोत रहेको उनको भनाइ थियो ।

भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताए । “हामीले केराका कोसाबाहेक अन्य कुनै पनि वस्तु केराका गाडीमा ल्याउन दिँदैनौँ”, उनले भने, “टिआर–४ केराका कोसाबाट सर्दैन, कोसा सुरक्षित गरी ल्याएकालाई मात्रै क्वारेन्टाइन गर्ने गरेका छौँ ।”

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरुको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको घिमिरेले बताए । “यो सबै काम प्लाण्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ”, उनले भने, “भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।”