समाचार

धनवन्तरीको मूर्ति अनावरण

२५ कात्तिक, म्याग्दी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय परिसरमा आयुर्वेदका प्रवर्द्धक धनवन्तरीको मूर्ति स्थापना गरिएको छ ।

राष्ट्रिय आरोग्य दिवसका अवसरमा आज जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष जीवनबहादुर विश्वकर्माले धनवन्तरीको मूर्ति अनावरण गरे । गण्डकी प्रदेश सरकारको रु एक लाख बजेटमा आयुर्वेद कार्यालय परिसरमा धनवन्तरीको मूर्ति स्थापना गरिएको छ ।

बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले जडीबुटीलाई औषधिको रूपमा प्रयोग गर्न सकिने तथ्य पहिचान गर्नुभएका धनवन्तरीको ज्ञान आधुनिक समाजमा पनि उपयोगी रहेको बताए ।

पण्डित भीमनाथ पराजुलीले धनवन्तरीले समुद्र मन्थन गरेर जडीबुटीबाट औषधि बनाउने गर्नुभएकाले हरेक वर्ष काग तिहारको दिन धन्वन्तरी जयन्ती मनाउने गरिएको बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख दामोदर शर्मा र वैद्य निरीक्षक प्रेमप्रसाद गौतमले वार्षिक बजेट तथा कार्यक्रममा नभए पनि अन्य स्रोतबाट व्यवस्थापन गरेर धन्वन्तरी जयन्ती मनाइएको बताए ।