समाचार

शान्ति बाटिकामा ‘काग’ सम्मेलन

२५ कात्तिक, काठमाडौँ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । एक सय ७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौँको शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै ‘बीसौँ काग सम्मेलन’ सम्पन्न गरे ।

कलाकार दुलाले १९ वर्षदेखि यसरी नै काग सम्मेलन गरिरहेको जानकारी दिए । उनले भने, “विशेषगरी तिहारको परम्परालाई जोगाइराखौँ र सकारात्मक सन्देश प्रवाह गरौँ भन्ने उद्देश्यले हरेक वर्ष काग सम्मेलन गरिरहेको छु । यसलाई आउँदो वर्षमा पनि निरन्तरता दिनेछु ।”

बिहान गरिएको सम्मेलनमा करिब ४० मिनेटसम्म उनले बोलाएको काग एकै ठाउँमा झुम्मिएका थिए । यद्यपि अघिल्ला वर्षहरूमा जस्तो कागको सङ्ख्या नरहेको कलाकार दुलालले बताए । उनले सम्मेलनको सुरुवात पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र इलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौँमा गर्न थालिएको उनले जानकारी दिए ।

“सपनामा काग कराएको देखेपछि मैले आवाज निकाल्न सुरु गरेको हुँ । त्यसपछि काग तिहारमा सम्मेलन गर्ने गरेको छु”, कलाकार दुलालले भने । पशुपक्षीको आवाज मात्र होइन उहाँ वाद्यवादनयन्त्र मादल, सनइ, सारङ्गी, पियानो, दमाहा, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज दुरुस्तै निकाल्ने भए पनि कलाकार दुलाल ‘काग’को आवाज निकाल्ने व्यक्तिका रूपमा परिचित छन् ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घको आयोजना र ह्याम्स हस्पिटल काठमाडौँ र सन्दकपुर गाउँपालिका इलामको सहआयोजना सम्मेलन गरिएको थियो ।