सूचना प्रविधि

अनर्गल प्रचारबाजी भएको भन्दै एनसेल कर्मचारी ट्रेड युनियनको गम्भिर ध्यानाकर्षण

काठमाडौँ । रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्रि प्रक्रिया सम्बन्धी अनर्गल प्रचारबाजी भएको भन्दै कर्मचारी ट्रेड युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । य्नियनले एक विज्ञप्ति जारी गर्दै एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्रि प्रक्रिया सम्बन्धी विषयमा नेपालको व्यवसायिक वातावरणलाईनै हतोत्साही गर्ने कुन्ठित मनसायले ओतप्रोत भई केहि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजी प्रति एनसेल आजियाटा लिमिटेडमा क्रियाशील रहेको यस एनसेल कर्मचारी ट्रेड युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि कम्पनीको शेयर खरिद बिक्रि हुनु भनेको एक सामान्य प्रक्रिया हो । एनसेल एक बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक नै हो । नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र समेत भएको हुँदा नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनीका हकमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय विधि विधान आकर्षित हुन्छन् र सो को पूर्ण रूपमा परिपालना हुनुपर्छ भन्नेमा यो ट्रेड युनियन स्पष्ट छ ।”

“एनसेल एक नेपाली पब्लिक लिमिटेड कम्पनीका रूपमा यथावत छ । यो शेयर खरिद बिक्रि प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा संचालनमा कुनै फरक पारेको छैन । कम्पनीले प्रवाह गर्ने अत्यावश्यक दूरसञ्चार सेवाहरु निरन्तर संचालनमा रहेका छन् र हामी कर्तव्यनिष्ठ कर्मचारीका नाताले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गरिरहन प्रतिबद्ध छौं । कम्पनीमा स्पेक्ट्रलाइट यूके लिमिटेडमार्फत नेपाली मुलका लगानीकर्ता भित्रिएसँगै हामी नयाँ जोश र जागरका साथ अगाडि बढ्ने छौं र नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट यूकेलाई स्वागत गर्न चाहन्छौं । कम्पनीको शेयर होल्डिङ् परिर्वतनलाई अब एनसेल कम्पनीनै नेपालमा छैन जत्तिकै गरि कम्पनीकै व्यवसायिक छविमाथि आँच आउने गरि भएकारगरिएका प्रचारबाजी प्रति सजग रहन एनसेलका सम्पूर्ण ग्राहकहरु, व्यवसायिक साझेदारहरु तथा आम नेपाली जनताहरुलाई आर्दिक अपिल गर्दछौं ।”

विज्ञप्तिमा भनिएको छ, “विगतमा पनि यस कम्पनीको शेयर स्वामित्व परिवर्तन भएका छन् र नेपालको कानून बमोजिम तिर्नु बुझाउनु पर्ने कर तथा विभिन्न समयमा सम्मानित अदालतले तोके बमोजिमका कर भुक्तानी गरेको कुरा छर्लङ्ग छ । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको एनसेलले स्थापना पश्चात् हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब भन्दा बढि कर तथा शुल्कहरु भुक्तानी गरि सकेको छ । एनसेलले आफुलाई देशकै ठूलो करदाताको सूचीमा अग्रणी स्थानमा राख्दै आएको छ । त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै कानुन बमोजिम निर्धारित क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, वातावरण, प्राकृतिक विपदलगायतका क्षेत्रमा उल्लेखनिय योगदान गरेको छ र देशका दूर–दराजसम्म नेटवर्क विस्तार गरि एक करोड साठी लाख भन्दा धेरै जनतालाई दूरसञ्चार सेवा दिएको तथा प्रत्यक्ष अप्रत्यक्ष गरि २५ हजार भन्दा बढी रोजगार सिर्जना गरि“हामी तपाईंकै लागि”भन्ने नारालाई सार्थकता दिदै आएको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन। यसप्रकार देशकै सामाजिक, आर्थिक तथा सञ्चारको क्षेत्रमा अतुलनिय योगदान पुर्याउँदै आएको कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सिर्जना हुनेगरि बदनाम गर्न खोजिनु खेदपूर्ण छ । देशको संविधानले सूचनाको हक सुरक्षित गरेकै छ । हरेक सरकारी कार्यालयमा एक सूचना अधिकारि तोकिएकै हुन्छन् । सूचना प्राप्तिको यति सरल विधि हुँदाहुँदै पनि सम्बन्धित निकायमा गएर नबुझी, सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धुमिल्याउने गरि उछितो काड्नु निन्दनीय छ ।”

“हालै भएको शेयर खरिद बिक्रिका सम्बन्धमा सरकारले छानबिन समिति गठन गरि सत्यतथ्य छानबिन प्रक्रिया अगाडी बढाई सकेको अवस्थामा पनि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल प्रचारबाजी हुनु छानबिन प्रतिवेदनलाईनै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको देखिन्छ । आगामी वैशाखमा नेपाल सरकारले आयोजना गर्ने भनिएको लगानी सम्मेलनलाई नै असफल बनाउने उदेश्य राखी वैदेशिक लगानीलाई निरुत्साहित गर्ने प्रपञ्च प्रति सचेत हुँदै यसखालका तथ्यहीन भ्रम फैलाउने जो कोहीलाई कारबाहीको कठघरामा उभ्याउन यो ट्रेड युनियन नेपाल सरकारसँग जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।