शिक्षा

‘बालबालिकाको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण’

२३ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बालबालिकाको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण रहने धारणा राखेका छन् । सौगात मोन्टेसरी स्कुलद्वारा आज यहाँ आयोजित ‘सौगात आइकन २०८० सिजन ७’मा सम्बोधन गर्दै बालबालिकालाई सही समयमा सही वातावरण सृजना गरी उनीहरुको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भनाइ व्यक्त गरे।

“हामीले बालबच्चालाई जुन वातावरण दिन्छौँ । जुन संस्कार संस्कृति दिन्छौँ, सोहीअनुरुप व्यवहारमा देखाउने गर्छन् । भोलिका युवाको निर्धारण आजका बालबालिकाले गर्छन् । यसमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना बालबच्चा कस्ता बनाउने भनी अभिभावकले ध्यान दिनुपर्छ”, डा शर्माले भने। 

मोन्टेसरी स्कूल प्रमुख राज्य लक्ष्मी श्रेष्ठले यस्ता कार्यक्रमले बालबालिकाको सामाजिक व्यवहार र सीप विकासमा भूमिका खेल्ने धारणा व्यक्त गरे । विद्यालयले  विसं २०७३ देखि बालबालिकाको नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास र  सञ्चार कौशल सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विभिन्न नेपाली भेषभुषामा सांस्कृतिक नृत्य, फेसन शो, प्रश्नोतरमार्फत विद्यार्थीले प्रतिभा देखाएका थिए । 

कूल २१ विद्यार्थी सहभागी सो कार्यक्रममा छात्रातर्फ क्रिस्मा पन्थी र छात्रतर्फ निर्भिक गौतम उत्कृष्ट भएका छन् । फस्ट रनर अप आरभ यादव र सर्लिन श्रेष्ठ र सेकेन्ड रनर अप समिप सुवेदी र आभ्या गौतम भए । प्रतिस्पर्धामा सहभागी सम्पूर्ण विधार्थीलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।