ब्रेकिङ न्युज

देशभर बर्डफ्लु घट्दै, उपत्यका भने अझै निगरानीमा

२३ असार, काठमाडौं । देशका विभिन्न जिल्लामा फैलिएको बर्डफ्लु संक्रमण सात जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ। तर काठमाडौं उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोकमा भने संक्रमणको जोखिम अझै कायम रहेकाले निगरानी जारी राखिएको छ।

पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा अवस्था पूर्ण रूपमा सामान्य नभएकाले ती जिल्लामा विशेष निगरानी जारी छ।

संक्रमण फैलिन नदिन विभागले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी संक्रमित पन्छी, अण्डा, दाना तथा पन्छीजन्य सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरेको जनाएको छ।

यस्तै, पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा अन्य संवेदनशील क्षेत्रमा निगरानी कडा बनाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छीसमेत नियन्त्रणमा लिएर नष्ट गरेका थिए।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार केही जिल्लामा संक्रमण नियन्त्रणमा आएसँगै पन्छी ओसारपसारमा लगाइएको कडाइ आंशिक रूपमा खुकुलो बनाइएको छ। यद्यपि, उच्च मृत्युदर भएको यस रोगको थप फैलावट रोक्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर जनशक्ति परिचालन भइरहेको उनले बताए।

विभागले पन्छीपालक किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा पन्छीमा शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।