प्रदेश 1

धरानमा सुकुम्वासी वस्तीका विद्यार्थीलाई सहयोग

१२ माघ, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित सुकुम्वासी वस्तीका बालबालिकालाई रु ४० हजार बराबरको लुगा र शैक्षिक सामग्री वितरण गरिएको छ ।

जापानको फुनावासी, चिवास्थित ‘आवर मार्ट फुनावासी’ का सञ्चालकद्वय सुमीत्रा राई र चेतबहादुर थापामगरले धरान–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लुगा र शैक्षिक सामग्री उपलब्ध गराएका हुन् । सुमीत्राकी आमा सुनमाया राईले विद्यार्थीलाई उक्त सामग्री वितरण गरे ।

विद्यालयका न्यून आर्थिक अवस्था भएका १५ विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । विद्यालयमा हाल एक सय ६० विद्यार्थी अध्ययनरत रहेका शिक्षिका दीपा श्रेष्ठले बताए ।