बाग्मती

सम्भावना भएको देशमा निराशा बाँड्ने काम नगरौँ : मुख्यमन्त्री जम्कट्टेल

१३ माघ, भरतपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्भावना नै सम्भावना भएको देशमा निराशा बाँड्ने काम गर्न नहुने बताएका छन् । नेपाल युवा परिषद्को आयोजनामा माडीमा आज आयोजित बागमती प्रदेशस्तरीय युवा सम्मेलनको उद्घाटनसत्रमा बोल्दै जम्कट्टेलले निराशाको कुरा गर्न नहुने बताए ।

उनले भने, “निराशा बाँडेर हामी कहाँ पुग्छौँ ? के हाम्रो देश विकास नभएकै हो त ? विकास त भएको छ तर निराशा बाँड्नेलाई छुट छैन । योजना दिने हो कार्यक्रम दिने हो । सक्छौँ, सक्नुपर्छ भन्ने हो । सम्भावना नै सम्भावना छ, सम्भावना खोजौँ । आफैँ नेतृत्वमा हुने अनि फेरि निराशा बाँड्ने हो ? आशा जगाउने काम गर्नुपर्छ ।” उनले देशमा युवा विदेश जाने कुरा फेशनजस्तै आएको बताए ।

उहाँले विदेश जानलाई रोक्ने भन्दा पनि सीप र ज्ञान लिएर विदेश जाने वातावरण तयार गर्नुपर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “विदेश जानबाट युवालाई रोक्नलाई के गर्ने ? जागिर हो कि हाम्रो बुवाआमाले गरेको पेसा हो कि ? के हो ? एउटा गएपछि अर्काे पनि जानैपर्यो । विदेश जान हुँदैन भन्ने होइन । अमेरिकाका मानिस हाम्रो देशमा काम गर्छन् । अमेरिकाको एउटा आइटी कम्पनी हाम्रो देशमा छ । विश्वभरको काम यहीँ गर्छन् । भारत र चीनका मानिस पनि संसारभर छन् । जानै परे सीप र पढाइ लिएर जाँदा राम्रो हुन्छ ।” उनले सकेसम्म स्वदेशमै रोजगारीमा लाग्नुपर्ने विचार राखे ।

मुख्यमन्त्री जम्कट्टेलले युवाहरूले सामाजिक विकास र ज्ञानलाई बिर्सन नहुने विचार राखे । उनले भने, “हामी युवाहरू उमेर र क्षमताको हिसाबले अगाडि छौँ, पछिल्लो सामाजिक सञ्जालको चेतनाको हिसाबले अगाडि छौँ ।” उनले आफू घरमा घाँस काटेर, भकारो सोरेर दुई घण्टाको स्कुल गएको अनुभव सुनाए । उनले भने, “मैले मलको डोको बोकेर लान्थेँ । स्कुलबाट फर्किएर आउँदा पराल लिएर आउनुपर्दथ्यो कि त धान लिएर आउनु पर्दथ्यो । तर अहिलेको युवालाई पढ्ने पूरा समय हुँदा पनि पढ्न सकेका छैनन् ।”

उनले युवा सम्मेलनमा समाजको विकास र सामाजिक अध्ययनबारे छलफल गर्नुपर्ने सुझाव दिए । उनले देशमा केही छैन भनेर निराशा पोख्नेभन्दा पनि यस्तो कार्यक्रम गरौँ भनेर योजना दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले कार्यक्रममा युवाहरूले नेपालमा डाक्टर पढ्न पाउने कि नपाउने भनेर सडकमा आएर नारा लगाउनुपर्ने बताए ।

त्यस्तै उहाँले नर्स पढ्न पाउने कि नपाउने भनेर लाइन लगाएर सडकमा उभिन युवाहरूलाई आह्वान गरे । उनले भने, “चालीस हजार विद्यार्थी एसइई पास गरेका छन् । पिसीएल नर्सिङ पढ्छु भनेका छन् । कसले रोकेको हो । एमबिबीएस पढ्ने डाक्टरहरू हजारौँ पास छन्, बागमती प्रदेशमा डाक्टर र नर्स सबैले पढ्न पाउनुपर्छ । यो पनि तपाईँको छलफलको विषय बनोस् ।”

उनले धेरै युवाहरू मन्त्री र नेता देखेपछि ‘इरिटेट’ भइरहेको बताए । उनले कृषि पेसालाई पनि उद्यमशीलताअन्तर्गत राख्नुपर्ने विचार राखे । उनले भने, “उद्यमशीलता भनेको देशमा जे आवश्यकता छ त्यही छ । नेपालमा कृषि पेसालाई उद्यमशीलता मान्दैनन् । खेती गरेर खाने, तरकारीखेती गर्ने मानिसलाई उद्यमशीलता मान्दैनन् । हामीले गर्ने मूल पेसा नै कृषि नै हो । हेटौँडा कपडा उद्योग खोल्ने हो भने कपासखेती कहाँ गर्ने हो प्रस्ताव ल्याउनुहोस् । बाख्रा पाल्नुस्, तरकारीखेती गर्नुहोस् भन्ने सल्लाह दिन्छु ।”

मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले समुदायमा आधारित पकेट क्षेत्र उत्पादनको नीतिअनुसार किसानलाई नै समुदायमा आधारित बनाउने योजना ल्याएको बताए । उनले प्रदेशमा उद्यमशीलताको कुरा गर्दा कृषि र पर्यटन मुख्य रहेको बताए । उनले भने, “पाँच हजार युवा कृषिमा आबद्ध हुने भनेर आउनोस् म पनि लाग्छु । बजेट पनि छ । कृषिमा संलग्न १० हजार युवा तयार गरौँ ।”

उनले युवालाई गाउँमा शिक्षक हुन जान पनि अनुरोध गरे । विज्ञापन गर्दा कोटा नै नपुग्ने गरी शिक्षकको अभाव रहेको उहाँले बताए । तीन दिनसम्म माडीमा चल्ने प्रदेश युवा सम्मेलनमा १३ जिल्लाका युवाहरूको प्रतिनिधित्व रहेको छ ।