कर्णाली प्रदेश

भूकम्पपीडित अस्थायी आवास निर्माणको काम जारी

२० माघ, रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम जारी रहेको छ । भूकम्प गएको तीन महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन् ।

अझै पनि कतिपय भूकम्पपीडित त्रिपालको साहाराले रात काटिरहेका छन् भने कतिपय चर्किएको घरमा बस्न बाध्य छन् । तीन महिनाको अवधिमा जिल्लाभर २२ हजार आठ सय आठ अस्थायी आवास निर्माण सम्पन्न भए पनि सबै पीडितको अस्थायी आवास निर्माण हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए ।

उनका अनुसार जिल्लाभर चार हजार पाँच सय ७१ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा सात हजार आठ सय ८२ अस्थायी आवास निर्माण सम्पन्न हुँदा सबैभन्दा कम मुसीकोट नगरपालिकामा पाँच सय ९८ मात्र अस्थायी आवास निर्माण भएका छन् ।

त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार तीन सय ४५, चौरजहारी नगरपालिकामा चार हजार दुई सय ३४, त्रिवेणी गाउँपालिकामा दुई हजार पाँच सय ६० र बाँफीकोट गाउँपालिकामा दुई हजार एक सय ८९ गरेर जिल्लाभर २२ हजार आठ सय आठ अस्थायी आवास निर्माणको काम सम्पन्न भई लाभग्राही अस्थायी आवासमा बस्न थालेका सहायक प्रजिअ बढुवाले जानकारी दिए । हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले ७३ करोड ५१ लाख ५० हजार रकम पठाइएको छ ।

स्थानीय विपद् कोषबाट भने २७ हजार दुई सय ९३ लाभग्राहीले २५ हजारका दरले ६८ करोड नौ लाख ५० हजार रकम प्राप्त गरेका छन् । हालसम्म जिल्लाभर २९ हजार बढी लाभग्राहीको प्रहरी लागत सङ्कलन भएको छ ।

सङ्कलनको काम जारी रहेकाले लाभग्राहीको सङ्ख्या ३० हजार पुग्न्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।