गण्डकी प्रदेश

कृषि पर्यटन मार्गमा कालोपत्र

२१ माघ, तनहुँ । जिल्लाका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्र गरिएको हो । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमाना रहेको यो मार्ग भीमाद नगरपालिका क्षेत्रमा जोडिएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत कृषि पर्यटनका लागि सो मार्ग निर्माण गरिएको हो ।

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुईसय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ठेक्का सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरी लक्ष्य अगावै कालोपत्र गरिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिनुभयो । मङ्लादेवी सुवास कन्ट्रक्सन कम्पनीले विसं २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि चार करोड ४३ लाख ४० हजार पाँच सय २८ मा ठेक्का सम्झौता गरेको थियो ।

उक्त मार्गले तीन पालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्तिम भुक्तानी प्रदान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए ।

त्यसैगरी व्यास नगरपालिका–११ मा एक हजार सात सय मिटर लामो बाराही– रानीमार्ग आठ महिनाअघि कालोपत्र गरिएको थियो ।

उक्त दुवै योजना क्रमश :आठ महिना र चार महिना अघि सकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले विस २०७९ फागुन १४ गते यो सडक निर्माणका लागि चार करोड ४३ लाख ४० हजार पाँच २८ मा ठेक्का सम्झौता गरेको थियो ।