सूचना प्रविधि

नेपाल टेलिकमको २०औं वार्षिकोत्सव सम्पन्न

२२ माघ, काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रम आज (२०८० माघ २२ गते) सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षता गरेका थिए ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानीय तहसम्म सेवा पु¥याउन सहयोग गर्ने सबै कर्मचारी र सम्बद्ध पक्षहरुमा धन्यवाद ज्ञापन गर्दै ग्राहकलाई सर्वसुलभ तथा भरपर्दो रुपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी भएको बताए । पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तार लगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि आवश्यक कार्य गर्न निर्देशन दिए ।

सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनीका कार्यक्रमहरु परिलक्षित रहेको बताउँदै मन्त्री शर्माले कम्पनीको प्रगतिलाई ध्यानमा राखी दीर्घकालीन व्यावसायिक योजना बनाउन पहल गर्नु आवश्यक रहेको बताए । कम्पनीको ऐतिहासिक विरासत कायम राख्न र आयमा वृद्धि गर्न सम्पूर्ण संयन्त्र परिचालन गर्न समेत मन्त्री शर्माले निर्देशन दिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए । आन्तरिक कार्य वातावरण चुस्त बनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रुपमा कम्पनीलाई विकास गर्नुपर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहम् भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समय सापेक्ष सुधार गर्नु आवश्यक रहेको र सो का लागि नियामक निकायको तर्फबाट सहयोग, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । सेवाको कभरेज र गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उहाँले यसका लागि टेलिकमकर्मी एकजुट भई लाग्नुपर्ने समेत बताए ।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) शंकर लामिछानेले प्रतिस्पर्धी वातावरणमा मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरे । उनले सकारात्मक कार्य वातावरणको निर्माण गर्न कर्मचारी, व्यवस्थापक र नीति निर्माता बिच ऐक्यबद्धताको आवश्यकता रहेको समेत बताए ।