कर्णाली प्रदेश

सिंहदरबारभित्र हुने काम गाउँमा पुग्यो: मुख्यमन्त्री शर्मा

२७ माघ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् ।

मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौँ ऐतिहासिक बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुग्ने बताए ।

“हिजोको आन्दोलनमा महिलाहरूको भूमिका धेरै थियो”, उनले भने, “अब आम जनतामा जागरण गर्न पैदा गर्न आवश्यक छ जहाँ महिलाले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिरहेका छन् ।”

दशवर्षे सशस्त्र सङ्घर्ष र विसं २०६१–६२ को जनआन्दोलनपछि मुलुकमा ठूलो परिवर्तन आएको बताउँदै मुख्यमन्त्री शर्माले उत्पीडित जाति, वर्ग र धर्मका मान्छेले मुक्ति नपाउँदासम्म आन्दोलन जारी रहने यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने जनाए । सङ्घर्ष, त्याग र बलिदानभित्र सङ्घर्ष लुकेको जनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशअनुसार परिवर्तन खोज्नुपर्ने र त्यसका लागि उत्पीडितहरू एक हुुनुपर्ने उनले भनाइ थियो ।

केन्द्रका अध्यक्ष नजबुल खानले नेपालका विभिन्न प्रदेश गरी पाँचौँँ र अहिले कर्णालीमा छैटौँ बेटी सम्मेलन गरिएको बताए । बेटीहरूको सामाजिक, सांस्कृतिक अवस्थाबारे राज्यलाई सहजै बुझाउन र उनीहरूको अधिकार सुनिश्चित गराउन सम्मेलन थालिएको जनाए ।

डा लक्ष्मी जोशीले बेटी सम्मेलनमार्फत अहिलेसम्म जकडिएको पितृसतात्मक सोचलाई चिर्नु आवश्यक रहेको टिप्पणी गरे । बेटीहरूमा आएका समस्याको दीर्घकालीन सम्बोधन गर्न कार्यक्रम अभियानका रूपमा अगाडि बढाउन उनले सुझाए ।