स्वास्थ्य

नवलपरासीमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा

५ फागुन, नवलपरासी पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ ।

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ । पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिएपछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले बताए । उनका अनुसार फागुन मसान्तसम्म उक्त भवन अस्पताल विकास समितिलाई हस्तान्तरण गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो । अनुमानित लागतभन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको मन्त्रालयले जनाएको छ ।

निर्माणाधीन नयाँ भवनको रङरोगन र फिनिसिङको काम भइरहेको इञ्जिनियर मण्डल बताए । “वित्तिय प्रगति ९१ प्रतिशत र भौतिक प्रगति ९५ प्रतिशत भइसकेको छ”, उनले भने, “फागुनसम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम गरिरहेका छौँ ।”जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका थिए ।

यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । भौतिक पूर्वाधार काम सम्पन्न हुनेवित्तिकै फागुन अन्तिमदेखि नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको उनको भनाइ थियो ।

अध्यक्ष गुप्ताले भने, “पुरानो भवनमा भएका उपकरण सार्नुपर्ने हुन्छ । नयाँ भवनमा सर्दा केही संरचना निर्माण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता परेको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।” प्रादेशिक अस्पतालका रुपमा सञ्चालन तथा व्यवस्थापनका लागि थप जनशक्तिको आवश्कतापर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको उनले जानकारी दिए ।

“अस्पतालमा लैङ्गिक हिंसामा परेका महिलालाई निःशुल्क उपचारको व्यवस्था गर्नेछौँ”, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा किरण पाण्डेले भने । पचास शय्याको उक्त अस्पतालमा ओपिडी, परिवार नियोजन, खोप, शल्यक्रिया, प्रसूति सेवालगायत आधुनिक ल्याबको पनि व्यवस्था गरिएको उनले जानकारी दिए ।