शिक्षा

ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगर शिक्षा विभागबीच शिक्षामा सीप कार्यक्रम

११ फागुन, काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागबीच ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले बनाएका चित्रकलाको आज काठमाडौँमा प्रदर्शनी गरिएको छ ।

महानगरभित्रका विद्यालयमा गर्ने कार्यक्रमका लागि भएको सम्झौताअनुसार स्केच र मूर्तिकला सीप प्रदान गरी आज कन्या मन्दिर माध्यमिक विद्यालय क्षेत्रपाटीका विद्यार्थीले तयार पारेका कलाकृतिको प्रदर्शनी गरिएको हो । विद्यार्थीले नेपालको प्राकृतिक सौन्दर्यदेखि सम्पदा तथा पुरातात्विक क्षेत्रलाई चित्रमा उतारेका छन् । उनीहरुले समसामयिकदेखि दैनिक जनजीवन र रहनसनका सृजना पस्किएका छन् । उनीहरुले स्वयम्भू, बौद्ध, पशुपतिनाथजस्ता महत्वपूर्ण मन्दिर र बौद्ध, गुम्बालाई सृजनामा उनेका छन् ।

यसअघि सोही कार्यक्रमअन्तर्गत सीप सिकेका गीतामाता मावि विजेश्वरीका विद्यार्थीले बनाएका सृजनाको प्रदर्शनी गरिएको थियो । शिक्षामा सीप कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले कोर्सबुकबाहेक पनि यसरी नयाँ सीप सिकेका हुन् । उक्त कार्यक्रम काठमाडौँको मध्य बानेश्वरमा रहेको रत्नराज्य स्कुल विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर सरस्वती माविमा सञ्चालन भएको थियो ।

ती नौवटा स्कुलमा १९ समूहमा विभाजन गरी पाँच सय ७० विद्यार्थीले यसरी कला सृजनाको सीप सिकेका हुन् । उनीहरुलाई हरेक शुक्रबार कला सृजना सिकाइएको थियो । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर र माटो कला (मूर्तिकला) का सीप सिकेका थिए । प्रशिक्षक सोनी राईले यो सीप सिकेपछि भविष्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला भएको बताए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगङ्गा दर्शनधारी महानगरको शिक्षामा सीप कार्यक्रमअन्तर्गतको यो नयाँ सिकाइ भएको बताए । विद्यालयतहबाटै कला सिकाउनुपर्छ भन्ने प्रतिष्ठानको उद्देश्यअनुरुप कार्यक्रम आयोजना भएकामा महानगरलाई धन्यवाद दिए । गत असोजमै काठमाडौँ महानगर र ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो ।