प्रदेश 1

माझी समुदायको कोशी पूजा पर्वमा कांग्रेसको सांस्कृतिक कार्यक्रम

१३ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले अल्पसंख्यक माझी समुदायको महान पर्व कोशी (लदी) पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङको अध्यक्षतामा सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित कालाबन्जारमा कार्यक्रम गरेको हो ।

परम्परागत जातिय भेषभुषा सहित माझी समुदायको जातिय संस्था नेपाल माझी उत्थान संघका नेता र माझी समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा माझी जातिको विविध मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै माछा, निगार लगायतका परिकारको सगुन समेत खुवाइएको थियो ।

प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले क्षेत्रीय समितिले उदाहरणीय कार्य गरेको भन्दै माझी समुदायको महान पर्वको अवसरमा पनि राज्यले विदा दिनुपर्ने बताउंदै विदाका लागि प्रदेश सरकारसंग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङले नेपाली कांग्रेस पाटी देश जस्तै बुहभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातिय भएकाले सबै जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको महान पर्वका अवसरमा दशैं, तिहार, छठ, नेपाल सम्वत् र तीजमा विविध कार्यक्रम गरी मनाउने परम्परा शुरुवात गरिएको भन्दै यसवाट समाजमा सद्भाव, सहिष्णुता, एकता र एकअर्काप्रतिको सम्मानमा वृद्धि भएको बताए ।
कांग्रेसका प्रदेशसभा १(२) का सभापति तथा धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले भेषभुषा र सांस्कृतिक नृत्य सहित माझी समुदायको सहभागिताले कार्यक्रमको गरिमा बढेको भन्दै शुभकामना र धन्यवाद व्यक्त गरे ।

कांग्रेस नेता किशोर राईले क्षेत्रीय समितिले नमुना कार्यक्रम र अभियानको शुरुवात गरेको भन्दै माझी समुदायको पर्व मनाउने मात्र नभएर समुदायको स्तरोन्नति गर्ने खालका कार्यक्रम र योजनाहरु समेत गरिनुपर्ने बताए ।

त्यसै गरी कांग्रेस नेता तथा अधिवक्ता बुद्धि कटवालले शुभकामना व्यक्त गर्दै विपन्न माझी समुदायका जनताका लागि निःशुल्क कानुनी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।
महाधिवेशन प्रतिनिधि पुजा धामीले माझी महिलाहरु पनि सामाजिक राजनीतिक क्षेत्रमा अघि बढ्नुपर्ने बताए ।

बराहक्षेत्र नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा कांग्रेसका प्रदेशसभा १(२) का सह–सचिव रोहित काप्mलेले कार्यक्रमले कांग्रेस सबै जाति र धर्म समुदायको पाटी भएको सन्देश दिन सकेको भन्दै शुभकामना व्यक्त गरे ।

नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य गुन्जमान माझीले माझी समुदाय राज्यको सेवा सुविधावाट वञ्चित हुंदै आएको र माझी जातिको महान पर्व कोशी (लदी) पूजालाई हालसम्म मान्यता समेत नदिएको र विदा पनि नदिएको गुनासो गर्दै पहिलोपटक नेपाली कांग्रेसले आप्mनो समुदायलाई सहभागी गराएर कोशी (लदी) पूजा मनाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे ।

संघकै सुनसरी जिल्ला अध्यक्ष घनश्याम माझीले पनि १८ वर्षदेखि विदाका लागि आवाज उठाएको भएपनि हालसम्म सुनुवाई नभएकोमा दुःख व्यक्त गर्दै फागुन महिनाको तेश्रो (साईली) मंगलवार पर्ने माझी जातिको महान पर्व कोशी पूजाको अवसरमा राज्यले विदा दिनुपर्ने भन्दै यसका लागि पहल गरिदिन आग्रह गरे । उनले नेपाली कांग्रेस जस्तो देश कै ठूलो पाटीले आप्mनो चाडका अवसरमा कार्यक्रम राखी माझी समुदायलाई समेत निम्तो गरेर भव्य र सभ्य कार्यक्रम गरेर माझी समुदायको सम्मान गरेको भन्दै नेपाल माझी उत्थान संघको तर्फवाट धन्यवाद र आभार समेत प्रकट गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह–सचिव गणेश सुब्बा, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका रामधुनी सभापति दिलबहादुर राई, क्षेत्रीय सदस्यहरु सन्ध्या श्रेष्ठ, लोकमणि शर्मा, प्रदिप राई, गोपाल कार्की, श्याम सुब्बा, कमला श्रेष्ठ, तिलकबहादुर कार्की, कृष्ण कार्की, क्षेत्रीय सल्लाहकारहरु रामराज महत, निर्मला गुरुङ, यूवा नेता सुरेन्द्र राई, प्रदेशसभा १(१) उपसभापति झुमादेवि राई, कोषाध्यक्ष रविना सुब्बा गुरुङ, धरान नगर कोषाध्यक्ष पञ्चकला राई, पूर्व क्षेत्रीय कोषाध्यक्ष तथा नेविसंघ पूर्व केन्द्रीय सदस्य सागर प्रसाई, वडा सभापतिहरु ईश्वर थापा, नुतन धामी, दिलबहादुर पौडेल, प्रदेश सम्मेलन सदस्य जानकी चौधरी, सरिता चौधरी, रामधुनी ६ का उपसभापति निर्मला चौधरी, वडा सदस्य शोभा विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो भने नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य सरोज माझी, बराहक्षेत्र नगर अध्यक्ष गणेश माझी, पूर्व धरान नगर अध्यक्ष जयबहादर माझी लगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसले यस अघि जितिया, क्रिसमस, उधौली, चासोक तङ्नाम, साकेला, साकेवा, भुजेली पर्व, माघी, सार ल्हेस, सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसारका अवसरमा विविध सांस्कृतिक कार्यक्रम शुभकामना आदान–प्रदान र चियापान कार्यक्रम राखिसकेको छ ।