मनोरञ्जन

भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ (तस्विरहरु)

१५ फागुन, काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा उहाँका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए ।

त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै सङ्गीतकर्मीले उहाँकै गीत र भजनमार्फत बिदाइ गरेका थिए । सङ्गीतकार सङ्घ नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गीतलाई उपस्थित सङ्गीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि गाएका थिए ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे । महामन्त्री थापाले गायक आचार्यको प्रस्थानसँगै साङ्गीतिक संसारमा एक युगको समापन भएको बताए ।
अर्का महामन्त्री शर्माले एउटा गायकले विगत ३० वर्षदेखि गीत गाउन नसक्नुको पीडा अन्यले महसुस गर्न नसक्ने बताए । “एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”, महामन्त्री शर्माले भने।

सङ्गीतकार तथा गायक टीका भण्डारीले नेपाली गीतसङ्गीतमा अपुरणीय क्षति भएको बताए ।
सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटाले आफूलाई गीतसङ्गीतमा भविष्य देखाउने र काठमाडौँसम्म आउन प्रेरणा दिने आवाज गायक आचार्यको रहेको बताए ।

गायक हेमन्त शर्माले गायक आचार्यलाई युग गायकको रुपमा सम्झिए ।
सङ्गीतकार वसन्त सापकोटाले भक्तराजको अवसानबाट एउटा इतिहासको समापन भएको बताए ।

गायिका मिलन नेवाले उनको गीतले आफूलाई प्रेरणा प्राप्त भएको बताए ।

विसं १९९९ मा धनकुटाको कुरुलेतेनुपामा जन्मिएका आचार्यको नेपाली सुगम सङगीतमा महत्वपूर्ण योगदान छ । आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान….’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।