शिक्षा

नयाँ आयाम मल्टी डिसिप्लिनरीको दीक्षान्त समारोह सम्पन्न

१६ फागुन, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट (नामी) मा दीक्षान्त समारोह सम्पन्न भएको छ । बेलायतको युनिभर्सिटी अफ नर्थह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले मंगलबार स्नातक तहको दीक्षान्त समारोह आयोजना गरेको हो ।

उक्त समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी सहभागी भएका थिए ।

दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि मित्रराष्ट्र बेलायतका राजदूत रब फेन्नले स्नातक उपाधि हस्तान्तरण गर्नुभएको थियो । दीक्षान्त समारोह कलेजका चेयरपर्सन डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो ।

नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्टमध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन् । नामीमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको प्लस टू, जीसीई ए लेभल, बिएस्सी कम्प्युटिङ, एमएस्सी कम्प्युटिङ, बीएस्सी सफ्टवेयर इन्जिनियरिङ, बीएस्सी इन्भायरोन्मेन्टल साइन्स, बीबीए, बिएस्सी नेटवर्क इन्जिनियरिङ जस्ता शैक्षिक कार्यक्रम सञ्चालित छन् ।