शिक्षा

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा अङ्कुर साह

२ चैत, धनुषा । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.अङ्कुर साह नियुक्त भएका छन् ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा.साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा.साहको नाम पहिलो नम्बरमा सिफारिस गरेका थिए ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका डा.साह प्रतिष्ठानका निमित्त उपकुलपति थिए । गत जेठ २५ प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएपछि सो पद रिक्त थियो । रिक्त पदमा नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।

उपकुलपति पदका लागि डा.रमेशप्रसाद सिंह (सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा.पशुपति चौधरी (सुनसरी), डा.राजेन्द्रप्रसाद साह (पर्सा), डा.गौरीशङ्कर साह (सुनसरी), डा.विद्यानाथ यादव (सप्तरी), डा.रोहितप्रसाद यादव (रौतहट), डा. अङ्कुरप्रसाद साह (धनुषा) र डा.सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएको जनाइएको छ ।