सूचना प्रविधि

प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्णः सञ्चारमन्त्री शर्मा

२४ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढ्नुपर्ने बताएका छन् ।

नवौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका सङ्घर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साका रुपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले भने, “अब राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक छ ।” 

नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । यो वर्ष हामी ‘सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता सुरक्षित पत्रकार’ भन्ने मूल नारासहित राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ ।

नेपाली पत्रकारिताको समीक्षा गर्दै आगामी बाटो अझै सहज र फराकिलो बनाउन आज महत्वपूर्ण दिन भएको मन्त्री शर्माको भनाइ थियो । आजभन्दा १२३ वर्ष पहिले विसं १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाश आरम्भ भएको थियो ।

सरकारी तहबाट समाचारमूलक पत्रिका प्रकाशन हुन थालेको लामो समय भए पनि निजी क्षेत्रबाट भने विसं २००७ को क्रान्तिपछि सञ्चारमाध्यम प्रकाशन/प्रसारण हुन थालेका हुन् । मन्त्री शर्माले विसं २००७ को क्रान्तिकै बीचबाट रेडियो नेपालले प्रसारण आरम्भ गरेको भन्दै प्रजातन्त्रको आगमनसँगै निजी क्षेत्रका पत्रपत्रिका पनि प्रकाशन हुन थालेका बताए ।

“प्रजातन्त्रसँगै पत्रकारिता पनि फस्टाउन खोजिरहेकै बेला पञ्चायती व्यवस्थाका कारण पुनःप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको जगजाहेर नै छ”, उनले भने, “पञ्चायतको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौँ । विभिन्न राजनीतिक आन्दोलनका बेलामा जनतामा जागरण ल्याउन पत्रकारिता क्षेत्रले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ ।”

प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्नेगरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको मन्त्री शर्माले जानकारी गराए । “सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरुको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आमनागरिकको रायसुझावसमेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ”,उनले भने।

आमसञ्चार क्षेत्रको स्वनियमन प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद्मा दर्ता भएको बताउँदै मन्त्री शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुने प्रक्रियामा रहेको जानकारी गराए। “त्यस्तै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्मा पेस हुने तयारीमा छ”, उनले भने, “छाता कानुनका रुपमा आमसञ्चार ऐन बनाएर सङ्घीयताको मर्मअनुसार नेपाली सञ्चार क्षेत्रलाई प्रवर्धन र व्यवस्थापन गर्ने सरकारको उद्देश्य रहेको छ ।”

यही ऐनअन्तर्गत बन्ने आमसञ्चार प्रतिष्ठानमार्फत सञ्चारमाध्यमको प्रवर्द्धन र व्यवस्थापन, श्रमजीवी पत्रकारको पेसागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालनलगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोँच रहेको मन्त्री शर्माले बताए । सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई थप स्वायत्त र प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको सार्वजनिक मिडियासम्बन्धी विधेयक प्रतिनिधिसभाको विषयगत समितिमा छलफलका क्रममा रहेको छ ।

सञ्चारमाध्यमको सवलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धनलाई सँगसँगै अघि बढाउन सरकारले निरन्तर काम गरिरहेको बताउँदै मन्त्री शर्माले सञ्चारमाध्यमको सबलीकरणमै सहयोग पुगोस् भनेर गत वर्ष मात्रै विज्ञापन नियमावली संशोधन गरिएको जानकारी दिए । समग्र विज्ञापन क्षेत्रमा सुधार ल्याउने गरी विज्ञापन नीति तर्जुमाको काम पनि भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पत्रकारिता क्षेत्रलाई अझ सुदृढ र सबल बनाउन आजको दिनले थप ऊर्जा दिने उल्लेख गर्दै यस अभियानमा सरकारका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल र वरिष्ठ पत्रकारिता पुरस्कारबाट पुरस्कृत प्रतीक प्रधानले समग्र समाजको हितका लागि सञ्चारमाध्यमले खेलेको भूमिका र महत्वका बारेमा चर्चा गर्दै सूचना प्रविधिको विकाससँगै सञ्चारक्षेत्रमा देखिएका चुनौतीका बारेमा चर्चा गरेका थिए  ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) लाई तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) लाई पुरस्कृत गरे ।