६ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानले मुलुकको जीवनमा नयाँ आयामहरु थपेको बताएका छन् ।
संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले १०औं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च कोटीको हुँदाहुँदै पनि संविधानमा भएको व्यवस्था बमोजिम नै संशोधनको कार्य अगाडि बढाउन लागिएको बताएका हुन् ।
संविधान संशोधनको विषय उठाउँदा कोही पनि आत्तिन, झस्किन र तर्सिन जरुरी नरहेको उनले बताए । संविधान निर्माणको बेलामाजस्तै व्यापक संवाद र अन्तरक्रिया गरेर संविधान संशोधन कार्य अगाडि बढाइने उनले बताए ।
‘संविधान संशोधन अथवा परिमार्जनको कुरा उठाउँदा यसमा आत्तिनुपर्ने, झस्किनुपर्ने, तर्सिनुपर्ने कुनै कुरा छैन । संविधान स्वयंले १० वर्षपछि समीक्षा गर है भनेको छ । हामीले धेरै संवैधानिक आयोगहरु बनाएका छौं । संवैधानिक आयोगका बारेमा १० वर्षपछि समीक्षा गर भनेर संविधान आफैंले भन्यो,’– उनले भने ।





