८ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन् ।
मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले प्रष्ट भनेको अवस्थामा सरकारले संगठित अपराधमा फसाउने कोशिस गरिरहेको उनले आशंका व्यक्त गरे । नेता लामिछानेले दशैं, तिहार, छठ केही पनि नभनी अन्याय भएको खण्डमा न्यायको पक्षमा उभिन आग्रह गरे ।
‘प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्व प्रधानमन्त्रीले, सबैले स्पष्ट र लेखेर भनिसकेपछि त्यहाँ चलखेल, संगठितमा राखियो भने भोलि राजनीति नै गर्न नपाउने बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यो ढंगले गलत क्रियाकलाप, त्यस्तो किसिमको षड्यन्त्र गर्न खोजिएको खण्डमा म साथीहरुलाई अलर्ट रहन अपील गर्न चाहन्छु । देशैभरीका, अन्याय गरेछन् भने । हिजो पनि अन्यायका विरुद्धमा सघाउनु भएको हो । आज पनि अन्याय गर्यो सरकारले भने दशैं, तिहार, छठ जेसुकै हुन्छ, अन्यायका विरुद्धमा आउनुहोला,’– सामाजिक सञ्जालमार्फत लाइभ बसेका लामिछानेले भने ।
गोर्खा मिडिया नेटवर्क मार्फत् भएको सहकारी बचत रकम अपचलनको आरोपमा छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले आफूलाई पनि सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।





