समाचार

स्थिरताका लागि कांग्रेस-एमाले सरकारः मन्त्री पाण्डे

८ असोज, कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीतिक, आर्थिक एवं सामाजिक अस्थिरतालाई ठिक ठाउँमा ल्याउन दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा सरकार गठन भएको बताएका छन्।

कांग्रेस गण्डकी प्रदेश कार्यालय पोखरामा आज आयोजित कार्यक्रममा उनले विसं २०८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी एमाले भए पनि देशलाई अस्थिरताबाट जोगाउन कांग्रेसले मिलेर सरकार बनाउनुुपरेको बताए । “देशलाई सङ्कटबाट मुक्त गर्न दुई पार्टीबीच सहकार्य भएको हो । त्यसैले जनतालाई राहत दिने गरी सरकारले काम गर्नुपर्छ भनेर लागिरहेका छौँ । देशलाई सही दिशामा डोर्‍याउन सरकार सचेत र संवेदनशील भई अन्य पार्टीलाई पनि सँगै लिएर जान्छ”, मन्त्री पाण्डेले भने ।

विविधतापूर्ण संस्कृति र प्राकृतिक रूपमा सम्पन्न नेपालमा पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउदै मन्त्री पाण्डेले यसका लागि सरकार क्रियाशील रहेको धारणा राखे ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उनले जानकारी दिए । “दुई वटा विमानस्थल चलायमान गर्न विमानस्थलबाट लिँदै आएको प्रतिव्यक्ति रु तीन हजार कर छुट गरिएको छ । अब नेपाली आकास सुरक्षित छ भन्ने सन्देश दिन सबै मिलेर काम गर्न जरूरी छ”, मन्त्री पाण्डेको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपालमा धार्मिक पर्यटकको सम्भावना रहेकाले भएकाले सोहीअनुसार पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए ।