अन्तर्राष्ट्रिय

म्यानमामा बढ्दो द्वन्द्वकाबीच जनगणना, विरोध जारी

१६ असोज, याङ्गन । म्यानमामा जुन्टा विरोधी समूहले बहिष्कार गरेको राष्ट्रिय जनगणना लागि प्रहरी र सैनिकहरूद्वारा संरक्षित जनगणनाकर्ताहरु बुधबार मैदानमा उत्रिएका छन् ।

देशको ठुलो क्षेत्रमा आफ्नो नियन्त्रण गुमाए पनि सत्तारूढ जुन्टाले जनगणनाका लागि दबाब दिइरहेको छ । म्यानमाको धेरै भागमा रक्तपातपूर्ण द्वन्द्व फैलिएको छ, तर सन् २०२५ मा हुने वाचा गरिएको चुनावअघि मतदाता सूची अद्यावधिक गर्न जनगणना आवश्यक रहेको जुन्टाले बताएको छ ।

सैनिक र सशस्त्र प्रहरीको साथमा गणकको टोलीहरू जनगणनाका लागि याङ्गुनमा घर–घर पुगेका छन् ।

“विद्यालयका शिक्षक, स्थानीय अधिकारी, प्रहरी र स्थानीय सैन्य सदस्यहरूले जनगणना गरिरहेका छन् । आधारभूत सैन्य प्रशिक्षणमा सहभागी भएका मिलिसियाहरूले आफ्नो क्षेत्रमा सुरक्षाको लागि सहयोग गरिरहेका छन्”, एक सैन्य अधिकारीले बताए ।

“आतङ्कवादीहरूको खतराका कारण हामीले जनगणनाका लागि कडा सुरक्षा व्यवस्था लागू गरेका छौँ”, उनले भने ।

जनरल मिन आङ ह्लाइङको नेतृत्वमा रहेको जुन्टाले यसको विरोधमा स्थापना भएको जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरू र प्रजातन्त्र समर्थक “पिपुल्स डिफेन्स फोर्स” पिडिएफको विरोधका बावजुद यो जनगणना आयोजना गरेको हो । सेनाले यी समूहहरू मध्ये धेरैलाई “आतङ्कवादी” का रूपमा नामित गरेको छ तर गत हप्ता देशको गृहयुद्धमा वार्ताका लागि उनीहरुलाई अभूतपूर्व निमन्त्रणा जारी गरेको थियो ।

मङ्गलबारबाट सुरु भएको तथ्याङ्क सङ्कलनमा मिन आङ ह्लाइङ र अन्य वरिष्ठ जुन्टा कार्यकर्ताहरूबाट जनगणना सुरु भएको थियो । यो सर्वेक्षण अक्टोबर १५ सम्मका लागि निर्धारित गरिएको छ ।