अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घीय शरणार्थी प्रमुखद्वारा गाजामा अनिकालको ‘वास्तविक जोखिम’ को चेतावनी

३० असोज, बर्लिन । अमेरिकाले इजरायललाई गाजा क्षेत्रमा सहयोग वितरण सुधार गर्न चेतावनी दिएको एक दिनपछि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले बुधबार गाजामा अनिकालको जोखिमको चेतावनी दिएका छन् ।

उनले बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा आगामी जाडो र गाजाको जनसङ्ख्याको कमजोर प्रतिरोधात्मक प्रणालीतर्फ सङ्केत गर्दै भने, “आज वास्तविक जोखिम छ हामी एउटा यस्तो अवस्थामा प्रवेश गर्छौं जहाँ अनिकाल वा गम्भीर कुपोषण दुर्भाग्यवश फेरि एक सम्भावना हुनेछ ।”

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले गाजाको विशाल क्षेत्रहरू तहसनहस भएका छन् । इजरायलले घेरिएको प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा कारबाहीलाई तीव्र पारेको छ । त्यहाँ संयुक्त राष्ट्रसङ्घले लाखौँ मानिसहरू फसेको चेतावनी दिएको छ ।

“यो एक प्रकारको बाँझो भूमि बनेको छ, यो लगभग बस्न योग्य छैन”, लाजारिनीले गाजाको मानवीय स्थितिको भयावह चित्रण गर्दै भने ।

उनले गाजामा सहायता वितरणको सम्बन्धमा विगत दुईदेखि तीन हप्तामा मङ्गलबारबाहेक उत्तरतर्फ कुनै पनि राहत सवारी साधन प्रवेश नगरेको जानकारी दिए ।

“दक्षिणमा राहत सवारी साधनहरूको प्रवेशमा ठूलो गिरावट आएको छ । त्यहाँ २० लाख मानिसका लागि औसतमा ५० देखि ६० मात्र राहत सवारी साधन छन्”, उनले भने ।

लाजिरानीले प्रवेश गर्न सफल भएका राहत सवारी साधनहरू ‘कानून र व्यवस्थाको पूर्ण भङ्ग भएका कारण’ लुटपाटको शिकार भएको जानकारी दिए । यद्यपि उनले राहत सवारी साधन तथा खाद्यान्नलाई प्रवेश गर्न दिइएको अवस्थामा गाजामा भोकमरीको सङ्कट टार्न सकिने बताए ।