४ कात्तिक, जकार्ता । पूर्व जनरल प्राबोओ सुबियान्तोले आइतबार इन्डोनेसियाको राष्ट्रपति पदको सपथ लिएका छन् ।
सेनामा रहँदा अधिकार हननको आरोप लागेका ७३ वर्षीय उग्र राष्ट्रवादी प्रोबोओले निवर्तमान नेता जोको विडोडोको उत्तराधिकारीका लागि संसद्मा सपथ लिएका हुन् ।
उनले सपथ ग्रहणपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा भने, “हाम्रो प्रयास भ्रष्टाचार नियन्त्रण गर्ने र लोकतन्त्रको रक्षा गर्ने कुरामा हुनेछ ।”
उनले भने, “सबै इन्डोनेसियाली जनता, जसले हामीलाई मतदान गरेका हुनु वा विपक्षमा उभिएका हुन्, सबैको प्रतिनिधित्व हुनेगरी हामी इन्डोनेसियाली सरकारको नेतृत्व गर्नेछौँ।”
प्रबोओले आफूलाई इन्डोनेसियाको असंलग्न विदेश नीतिप्रति प्रतिबद्ध गदै विश्व मञ्चमा थप सक्रियताका साथ काम गर्ने सङ्केत दिएका छन् ।
आठ महिनाअघि निर्वाचित भएपछि उहाँ पहिलो विदेश भ्रमणका लागि चीन गएका थिएर चीनसँग प्रमुख सुरक्षा सम्झौता गर्नुभएको थियो । उनले राष्ट्रपति निर्वाचित भएपछि चीन, रूस र अस्ट्रेलियालगायत एक दर्जन अन्य देशको भ्रमण गरिसकेका छन् ।
विडोडोका ३७ वर्षीय छोरा जिब्रान राकाबुमिङ राकाको समर्थनमा गत फेब्रअरीमा भएको मतदानमा प्राबोओले राष्ट्रपति निर्वाचनमा पहिलो चरणबाट नै भारी मतसहित जित हासिल गरेका थिए ।
उनले इन्डोनेसियाको तटस्थ विदेश नीतिमा अडिग रहने बताए पनि क्षेत्रीय प्रतिरक्षालाई प्राथमिकता दिइने बताएका छन्छ ।
“हामी असल छिमेकी बन्न चाहन्छौं,” उनले भने।
उनले अगाडि भने, “हामी अरु देशलाई हस्तक्षेप वा अवरोध गर्न चाहँदैनौं र कुनै पनि देशले हामीलाई हस्तक्षेप वा अवरोध गरेमा सहने पनि छैनौँ ।
संसद्मा सपथ ग्रहणपछि राष्ट्रपति प्राबोओ जकार्ताको राष्ट्रपति भवनमा गएको थिए । उनले निवर्तमान् राष्ट्रपति विडोडोसँग सत्ता हस्तान्तरण समारोह अघि समर्थकहरूसँग भेट गरी शुभकामना ग्रहण गरेका थिए ।
जोकोवीको नामले बढी लोकप्रिय पूर्व प्रतिद्वन्द्वी विडोडोसँग उनले दुई चुनावी प्रतिस्पर्धामा हार व्यहोरेका थिए ।
उनले कार्यभार बहन गर्ने समारोहमा सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङ, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर, बेलायती विदेशमन्त्री डेभिड ल्यामी र चीनका उपराष्ट्रपति हान झेङलगायत दर्जनौं कूटनीतिज्ञ सहभागी भएको थिए ।
यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बधाई सन्देश पठाउँदै प्राबोओसँग ‘घनिष्ठ रणनीतिक संवाद’ कायम राख्ने बताएका छन् ।
सन् १९४५ मा इन्डोनेसिया स्वतन्त्र भएपछि इन्डोनेसियाका आठौँ राष्ट्रपति बनेका प्रबोओलाई जकार्ताको सडकमा कडा सुरक्षाका बीच दशौँ हजारको सङ्ख्यामा लामबद्ध भई शुभेच्छुकले शुभकामना दिएका थिए ।





